नेवानिले सुरु गर्‍यो क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले भैरहवा–क्वालालम्पुर उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाको क्वालालम्पुरबाट आएको निगमको न्यारोबडी विमान अवतरण भएको हो ।सातामा एक दिन (मंगलबार) निगमको विमानले क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान भर्ने गौतमबुद्ध विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले जानकारी दिए । उनले भने, “भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक उडान सुरु गरेको छ । निगमको विमानले मलेसियाबाट उडान भरेर भैरहवामा यात्रुलाई अवतरण गराई काठमाडौंका लागि उडान भर्नेछ । बजारको मागअनुसार निगमले अन्य गन्तव्यमा समेत उडान अनुमति लिई संख्या बढाउँदै लैजाने जानकारी प्राप्त भएको छ ।”एक सय ५८ सिट क्षमताको न्यारोबडी विमान मंगलबार ९० यात्रु लिएर भैरहवामा अवतरण गरेको थियो । यीमध्ये ३२ यात्रु भैरहवामा अवतरण गरेका थिए भने ५८ यात्रुलाई काठमाडौंमा अवतरण गराइएको थियो । सुरुवाती चरणमा उडान प्रवद्र्धन गर्न निगमले यो रुटमा भाडादर कम राखेको छ । भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजको पनि व्यवस्था गरिने भएको छ ।

वैदेशिक रोजगारमा जान श्रमस्वीकृति स्थानीय तहबाट लिन सकिने व्यवस्था भएपछि त्यस क्षेत्रका यात्रुलाई उडान भर्नकै लागि काठमाडौं आउनुपर्ने बाध्यता नपर्ने देखिएको छ । चालु आर्थिक वर्षमा श्रम गन्तव्य मुलुकको रुपमा मलेसिया पहिलो नम्बरमा छ । चालु आवमा करिब दुई लाख श्रमिक श्रमस्वीकृति लिएर मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । पछिल्लो समय नेपालबाट मलेसिया जाने श्रमिक बढेका कारण पनि उडान संख्या थप गर्नुपर्ने आवश्यकता थियो । सोहीबमोजिम निगमले काठमाडौं र भैरहवाबाट उडान थप गर्न लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएको ७३ वर्षपछि गत वर्ष जेठमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक व्यावसायिक उडान सञ्चालनमा आएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्