काठमाडौँ महानगरले विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत  आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ । अहिले कामपालगायत देशको सबै स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । कामपाले आफ्नो नीति तथा कार्यक्रममा नै उक्त विषय समेटेर आगामी आवदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए । वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत कामपाले खटाएका नर्सले सेवा दिनेछन् । एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले उक्त कार्यक्रम कामपाको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर कामपाले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो । उक्त कार्यत्रमसँगै कामपाले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यसैगरी प्रविधि र विशेष शिक्षामा गत वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्