घर बहालमा दिनेहरूका लागि काठमाडौँ महानगरपालिकाद्वारा निर्देशिका जारी

Machchapuchchre

अर्थ राजनीति  ~  घर बहालमा दिनेहरूका लागि काठमाडौँ महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ । काठमाडौँमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो । यसै सन्दर्भमा घर बहालसम्बन्धी निर्देशिका-२०७९ मा के-के व्यवस्था गरिएको छ भनेर काठमाडौँ महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्  ‘घरबेटीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने भनेको डेरावालासँगको सम्झौता हो, ‘अबदेखि घर बहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्छ। भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक-एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ।’ पछि घर खाली हुँदा पनि घरबेटीले यसरी नै सम्बन्धित वडा कार्यालयमा गएर सूचना दिनुपर्ने उनले बताए। यस्तो सूचना घर खाली भएको सात दिनभित्र दिनुपर्नेछ । उनका अनुसार सम्झौतापत्रमा बहाल लिने-दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ । यति मात्र होइन, घर बहालमा लिनुको प्रयोजन पनि सम्झौतामा खुलाइएको हुनुपर्ने काफ्लेले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्