सहमति जुटन नसकेपछि सभामुख चयन प्रक्रियामा ढिलाइ

Machchapuchchre

काठमाडौं । नेकपामा सभामुखका लागि सहमति जुटन नसकेपछि सभामुख चयन प्रक्रियामा ढिलाइ हुने भएको छ। यसअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखका लागि नेकपाभित्र सहमति भएपछि ११ गतेसम्म उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजिनामा आउने बताएका थिए।

उपसभामुखको राजिनामापछि ११ गतेको बैठक जेष्ठ सदस्यले सञ्चालन गर्ने र सोही बैठकले नयाँ सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने नेम्वाङको भनाइ थियो। तर सभामुखलाई लिएर नेकपाभित्र सहमति नजुटेकाले आज हुने भनिएको संसदको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना छ।

‘नेकपामा कुरा नमिलेकोले होला, उपसभामुखज्युको राजिनामा आएको छैन’, श्रोतले भन्यो,’शुक्रबारको बैठक सूचना टाँसेर स्थगित हुनसक्छ। तर उपसभामुखज्युले बैठक सञ्चालन गर्ने संभावना भने छैन।’

उपसभामुखले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि उपसभामुखमा तुम्बाहङफे नै कायम रहने कांग्रेसले भनेकाले अबको बैठक जेष्ठ सदस्यले आव्हान गर्ने तयारी भएको श्रोतले बतायो। सभामुखमा पुर्व एमाले र पूर्व माओवादी दुवै पक्षले दावी गर्दै आइरहेका छन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले पूर्व सभामुख एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले अग्नि सापकोटालाई अघि सारेको छ। उपसभामुख तुम्बाङफेले पनि सभामुखका लागि दावी गरेकी छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्