संविधान संशोधन भए राष्ट्रिय जनता पार्टी सरकारमा जाने निश्चित

Machchapuchchre

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग समेत औपचारिक र अनौपचारिक छलफल थालेका छन् ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर, उनले यसका लागि सरकार संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेका छन् । संयोजक महतोले पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने बताए ।

उनका अनुसार संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेकाहरुको झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ । सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपा पनि सरकारमा सहभागी भई सरकारलाई सहयोग गर्ने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्