अर्थ राजनीति ~ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि पानी बाराबारको अवस्थामा रहेका दुई ठूला कम्युनिस्ट पार्टीहरू पुनः भेटघाट, वार्ता र संवादमा जुटेका छन् ।मंगलबार राति साढे १० बजे माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ एमाले अध्यक्षको निवास बालकोट गएर २ घण्टा छलफल गरे । मंसिर १९ गते एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरे ।महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको प्रतिक्रिया दिएका थिए । तर, महासेठ त्यसबेला ओलीको सन्देश लिएर खुमलटार पुगेको स्रोत बताउँछ । ओलीनिकट मानिने एमाले नेता महेश बस्नेत पनि केही दिनअघि खुमलटार गएर प्रचण्डसँग भेटघाट गरेका थिए ।मंसिर ८ मा प्रचण्ड गोरखाबाट विजयी भएपछि ओलीले फोनमा बधाई दिँदै अब फेरि मिलेर जाऊँ भन्ने प्रस्ताव गरेका थिए । त्यो दिन धेरै लामो कुरा नभए पनि त्यसलाई पुनः कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सक्ने सेतुको रूपमा पनि हेरिन थालिएको छ ।माओवादी र एमाले मिलेर जानुपर्छ भन्नेमा दुवैतर्फका दोस्रो पुस्ताका नेताहरू छन् । लमजुङबाट चुनाव जितेका एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै उनका प्रतिद्वन्द्वी तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुवै कम्युनिस्ट पार्टी मिलेर जाने कुराको पहल गर्न आग्रह गरेका थिए । जुन कुरा अहिले एमाले माओवादीका दोस्रो तहका नेताहरूले अहिले गरिरहेका छन् । राजनीतिमा असम्भव भन्ने केही हुँदैन । ३२ सिट मात्र भएको कांग्रेसले करिब तीन वर्षपछि सरकारको नेतृत्व गर्ने अवसर पायो । तर, त्यही संसद्मा दुईतिहाइको नजिक भएका कम्युनिस्टहरू कोही सडकमा आए त कोही संसद्मा सहायक भूमिकामा बसे । तर, अघिल्लो संसद्मा दुईतिहाइ पुगेका कम्युनिस्टहरू सबै जोड्दा पनि अहिले बहुमत पुग्न सकेन । एकले अर्कोलाई देखाइदिने भन्दै फरक-फरक विचार भएकाहरूसँग गठबन्धन गरेर चुनाव लडे पनि कम्युनिस्ट कमजोर भए ।
आफ्नै कारणले संसद्मा खुम्चिएका कम्युनिस्ट पुनः मिलन बिन्दु खोज्दै गरेका देखिन्छन् । पुनः मिलेर जानुपर्ने भन्दै दिनदिनैजसो भेटघाटमा दुवै पार्टीका दोस्रो तहका नेताहरू लागेका छन् ।राजनीतिमा स्थायी मित्र र स्थायी दुस्मन नहुने भएकाले असम्भव भन्ने केही पनि नहुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन् । उनले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन । हामी त पहिला पनि मिलेका हौँ । अहिले पनि मिलेर सरकार बन्न सक्छ । असम्भव भन्ने छैन । भेटघाट राम्रो कामका लागि हुन्छ । भइरहेका छन् ।’तर, माओवादी भने तत्काल गठबन्धन तोडेर एमालेसँग जान तयार छैन ।अहिले चुनावी नतिजा हेर्दा एकले अर्कोसँग मिलेर जानुको विकल्प छैन । तर पनि दलहरू सहज रूपमा एक ठाउँमा आउन सहज छैन । नयाँ सरकार निर्माणको दौडधुप बढिरहेका बेला दुई प्रमुख कम्युनिस्ट पार्टीका नेताहरू भेटघाट र छलफलमा निरन्तर लागेका भए पनि तत्काल माओवादी एमाले मिलेर सरकार बनाउने कुरा असम्भव भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत बताउँछन् । उनले भने, ‘भेटघाट छलफल हुनु स्वाभाविक हो तर अहिले नै माओवादी र एमाले मिलेर सरकार बन्ने सम्भावना छैन ।’