सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा उल्लेख भएअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम वा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ । यसैगरी चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल र सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि सार्वजनिक स्थल हुन् । यी बाहेक अन्य कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थललाई पनि सार्वजनिक स्थल मानिने ऐनमा उल्लेख छ ।