अर्थ राजनीति ~ पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रले स्थापित गरेको एजेन्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्रको प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका सबै दलहरुले माओवादीले विगतदेखि स्थापित गर्दै ल्याएको एजेन्डामा राजनीति गरिरहेको बताएका हुन् ।
उनले देशको राष्ट्रिय राजनीति माओवादीको एजेन्डाकै पेरिफेरिमा घुमिरहेकोले माओवादी केन्द्रका नेता कार्यकर्ताहरु उत्साहित भएर आगामी निर्वाचनमा जानुपर्ने बताए । उनले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट प्रतिगमनवाद र विघटनवादको हार भइसकेको बताउँदै अग्रगामी राजनीति आगामाी निर्वाचनबाट अनुमोदित गराउनु जरुरी रहेको बताए । उनले प्रतिगमन विरुद्धको आन्दोलनमा जित हासिल गरेपछि नेकपा माओवादी केन्द्रको बैठकले पार्टीलाई फेरि एक पटक पुनर्निमाण गर्ने र क्रान्तिकारी पार्टीकै रुपमा अगाडि बढाउने संकल्प प्रस्ताव पारित गरेको बताए । उनले त्यस संकल्पको आधारमा कार्यक्रम बनाएर प्रत्येक प्रदेशमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गरिएको बताए । अध्यक्ष प्रचण्डले आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टीमा नेताहरुले गरेको योगदानको आधारमा उम्मेदवार बनाउने निर्णय पार्टीको बैठकबाटै गरिने जानकारी दिए । उनले वडादेखि प्रदेशसम्मका सबै तहका पार्टी संगठनसँग छलफल गरेर वर्णानुक्रम अनुसार नाम लेखेर उम्मेदवारको नाम सिफारिस गर्न अपिल गरेका छन् ।