सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षेले देश छोडे

Machchapuchchre

अर्थ राजनीति  ~  श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्। बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए। राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन्। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बिबिसीले जनाएको छ। अमेरिकी नागरिकता समेत भएका बासिल  त्यतै जाँदैछन्। श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश छ। यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए। यो सँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका थिए। श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएसँगै नयाँ राष्ट्रपतिको चुनिने प्रक्रिया थालिने भएको हो। शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि श्रीलंकाको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका छन्। २ करोड २० लाख श्रीलंकालीहरू केही वर्षअघिसम्म आर्थिक विकासका लागि छिमेकी मुलुकहरूका लागि पनि उदाहरण बन्ने दिशामा थिए। शासकहरूको  अदूरदर्शी नीतिका कारण अहिले श्रीलंका टाट पल्टिएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्