बैंकहरुको अतिरिक्त प्रोभिजनिङ ४० करोडदेखि एक अर्बसम्म बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  कोभिडको असरले बाणिज्य बैंकहरुको ऋणको नोक्सानी ब्यवस्थापन रकम (प्रोभिजनिङ) यसपाली बढेको छ। दुई वर्षपछि स्थलगत अनुगमनमा नेपाल राष्ट्र बैंक पुगेर एक/एक फाइल हेर्न थालेपछि प्रोभिजनिङको ग्राफ ह्वात्तै बढेको हो। राष्ट्र बैंक स्रोतका अनुसार, प्रत्येक बैंकको कम्तिमा पनि अतिरिक्त ३५ देखि ४० करोड रुपैयाँका दरले प्रोभिजनिङ बढेको छ। केही बैंकहरुको एक अर्ब रुपैयाँसम्म पनि प्रोभिजनिङ बढेको हो। राष्ट्र बैंकले यसपाली मासिक रुपमै प्रोभिजनिङ बढाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको दबाबमा परेपछि केही बैंकले ऋण उठाउन धमाधम लिलामी प्रकृया अगाडि बढाएका छन्। केहीको ऋण उठेर प्रोभिजनिङ रकम कम पनि भइसकेको छ। अहिले राष्ट्र बैंकको टोली सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा स्थलगत अनुगमनमा छ। नबिलसँग मर्ज हुने भएकाले यो पटक राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकमा टोली पठाएन। बाँकी सबै बैंकको स्थलगत अनुगमन सकिसकेको छ। यसमध्ये सबैको प्रारम्भिक प्रतिवेदन बनिसकेको छ। केहीको मात्रै बाँकी छ। राष्ट्र बैंकले सेयर धितो ऋणलाई प्राथमिकतामा राखेर हेरेको छ। राष्ट्र बैंकले चालु बर्षभित्र एउटा संस्थाबाट बढीमा ४ करोड र सबै गरेर १२ करोडसम्म मात्र ऋण झार्नु पर्ने निर्देशन जारी गरेको छ। सेयर धितो भनेर दिएको ऋणलाई राष्ट्र बैंकले भने अनुसार समायोजन गर्न अन्य तरिकाले ‘डिल’ गरेको पाइएको छ। त्यो ऋणलाई शतप्रतिशतसम्म प्रोभिजनिङ गर्न लगाइएको छ।

राष्ट्र बैंक स्रोतहरुका अनुसार, प्रोभिजनिङ गर्न लगाइएका ऋणमध्ये अधिकांश कोभिडकालमा दिइएकाहरु छन्। अस्पताल, विद्यालय, होटल, सिनेमा हलदेखि घरजग्गा क्षेत्रमा गएका ऋणहरुसमेत प्रोभिजनिङ गर्न लगाइएको छ। राष्ट्र बैंकले नियमित साँवाब्याज भुक्तानी गरेका तर एकातिर भनेर अर्कोतिर गएका ऋणहरुको समेत प्रोभिजनिङ गर्न लगाएको छ। विगतमा ऋणीले पनि एउटा बैंकबाट अर्को बैंकमा ऋण सारेर असल कर्जा बनाउने गर्थे। उनीहरुले अर्को बैंकबाट सापटी लिएर पुरानो ऋण पनि भुक्तानी गरेजस्तो गर्थे। यसपाली बैंकहरु ऋण स्वाप गर्ने अवस्थामा छैनन् भने थप ऋण दिन उदार हुने अवस्थामा पनि छैनन्। राष्ट्र बैंकको बुझाइमा, कोभिड नियन्त्रणका लागि लकडाउन गरिएपछि बैंकमा तरलता टन्नै थुप्रियो। राष्ट्र बैंकले पनि पुनर्कर्जा धेरै नै उपलब्ध गरायो। फालाफाल पैसा भएपछि संभावना नहेरी बैंकहरुले लगानी गरे। राष्ट्र बैंकले यसपाली आफूले दिएको निर्देशनभन्दा फरक जान पनि रोकेको छ। बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई डाकेर राष्ट्र बैंकले जुन वर्गमा ऋण सार्नु भनेको छ त्यही वर्गमा लैजान निर्देशन दिएका थिए।ढकालले बैंकका प्रमुख कार्यकारीहरुलाई ‘अहिले राष्ट्र बैंकले जुन वर्गमा ऋण सार्नु भनेको छ त्यही वर्गमा सारेर प्रोभिजनिङ गर्नु’ भन्दै निर्देशन दिएका थिए। ऋण भुक्तानी भयो, कागजात मिल्यो भने पछि राष्ट्र बैंकले त्यसलाई हेरेर प्रमाणित गर्छ अनि मात्र सामान्य अवस्थामा ऋणको वर्गीकरण झार्नु भन्ने कडा निर्देशन छ। यो कारणले पनि कतिपय भुक्तान भइसकेको ऋणको पनि प्रोभिजनिङ बैंकले गरिरहेको दाबी गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्