ग्लोबल आईएमई र बीओके बिच मर्जरमा जाने सहमति

Machchapuchchre

अर्थ राजनीति   ~  बिहीबार दुई वाणिज्य बैंकहरूले एकआपसमा मर्जरमा जाने सहमति गरे । नेपाल राष्ट्र बैंकले २०७४ मा ल्याएको नीतिअनुसार धेरै बैंकहरू बिग मर्जरमा जान केन्द्रित भए । तर, अहिलेसम्म कुनै पनि मर्जर सफल हुन नसकेको अवस्थामा ग्लोबल आईएमई बैंक र जनता बैंक बिग मर्जरमा जान सफल भए भने बिहीबार फेरि बैंक अफ काठमाण्डूसँग पनि मर्जरमा जाने सहमति भएको छ । ‘अलि पहिलेदेखि नै हामीबीच घनीभूत छलफल भइरहेको थियो । हामीले पहिले पनि धेरै मर्ज तथा प्राप्ति गरेका छौँ । अहिले फेरि अर्को सशक्त बैंक बैंक अफ काठमाण्डूसँग मिलेर अघि बढ्ने गरी सम्झौता गरेका छौँ,’ ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए ।नेपालमा बैंक स्थापनाको इतिहास ८२ वर्ष पुगिसकेको छ । वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेड पहिलो बैंकका रूपमा स्थापना भएको थियो । स्थापनाको हिसाबमा ग्लोबल आईएमई बैंक वाणिज्य बैंकहरूमध्ये कान्छो बैंकमा पर्छ । यो बैंक स्थापना भएको १५ वर्ष पूरा भएको छ । यो अवधिमा नै देशको पहिलो वाणिज्य बैंकको रूपमा ग्लोबल आईएमई बैंकले आफूलाई उभ्याएको छ । विशेषतः बैंकको पुँजीलाई गणना गरेर यो बैंकले आफूलाई पहिलो भनेको छ । ८२ वर्षको बैंकिङ इतिहासमा १५ वर्षको समय लिएको ग्लोबल आईएमई बैंक यसअघि १८ वटा बैंक तथा वित्तीय संस्थाको संगम हो । यस बैंकमा तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी जोडिएका छन् । बिहीबार सम्झौता गरेको बैंक अफ काठमाण्डू पनि दुई वाणिज्य बैंकबीचको मर्जर हो । यस हिसाबले ५ वाणिज्य बैंकसहित २० वटा बैंक तथा वित्तीय संस्था मिलेर अब ग्लोबल आईएमई बीओके बैंक बन्दैछ र सोही नाममा कारोबार अगाडि बढाउनेछ । बैंक, वित्त, बीमा, जलविद्युत्, उत्पादन, सूचना प्रविधि, ट्राभल एण्ड टुर, सवारीसाधन बिक्री, केबुलकार, होटल तथा रेस्टुरेन्टलगायत क्षेत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी विस्तार गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्