काठमाडौं महानगर र नबिल बैंक बीच सार्वजनिक शौचालय प्रयोगमा ल्याउन सम्झौता

Machchapuchchre

अर्थ राजनीति  ~  नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखास्थित शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सम्झौता गरेको छ । आज (बुधबार) काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै बैंकले उक्त घोषणा गरेको हो । महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंकले नै बहन गर्ने उल्लेख गरिएकाे छ । महानगरको नगरकार्यपालिका बैठकले यहि जेठ १६ गते काठमाडौं भित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।त्यसबमोजिम पहिलो सम्झौता नबिलले गरेको हो । शौचालयलाई प्रयोग गर्न दिएकै नाममा सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने र आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्ने प्रतिवद्धता बैंकले गरेको छ । पाँच वर्षसम्म कायम रहने सम्झौताको अवधि थप्न सकिने पनि जनाइएको छ । शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुबै पक्षबाट एक–एक प्रतिनिधि खटाइने सम्झौता पत्रमा उल्लेख छ । सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गर्नुभएको हाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्