तारा एयर अपडेटः लेतेमा ठूलो आवाज आएको भन्दै स्थानीयले गरे प्रहरीलाई खबर

Machchapuchchre

अर्थ राजनीति  ~ पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।  जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए । उक्त जहाजमा  १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका थिए ।  चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल र किस्मी थापा रहेका थिए ।

मुस्ताङको लेते क्षेत्रमा ठूलो आवाज आएको भन्ने स्थानीयले प्रहरीलाई खबर गरेका छन् । अहिले त्यस क्षेत्रमा फिस्टेल एयरको विमान पठाईएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले पोखराबाट उडेको विमान लेते भन्ने ठाउँसम्म सम्पर्कमा रहेको बताए । उनले भने, ‘ तारा एयरको ९ एनएईटी ट्विनअटर विमान पोखराबाट उडेपनि लेते भन्ने स्थानसम्म सम्पर्कमा रहेको थियो । त्यसपछि विमान सम्पर्कबाट बाहिरिएको हो । अहिले खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर पठाईएको छ ।’  त्यस्तै, जहाजमा युवे विल्नर, रितिका त्रिपाठी, धनुष त्रिपाठी, अकोश कुमार त्रिपाठी, तुलसा देवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, रविना श्रेष्ठ, गणेशनारायण श्रेष्ठ, बसन्त लामा, माइक ग्रीट ग्य्राफ, राजन कुमार गोले, पुरुषोत्तम गोले, इन्द्रबहादुर गोले, वैभवी बान्डेकर यात्रु रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्