पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल  फिर्ता लिन सरकारसँग माग गरेको छ। मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ। अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको उल्लेख गरेकी छन्।‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले नेपाली  जनजीवनमा सृजना गरेको कठिन  परिस्थिति प्रति हामी गम्भीर भएका छौं। दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मुलुक चुनावमा होमिएको समयमा पारेर गरिएको मुल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्