स्वार्थ बाझिने क्षेत्रमा गभर्नरको लगानी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैंले करोड बढीको सेयर खरिद गरेर राखेको पाइएको छ । गभर्नर अधिकारीले आजका मितिमा पनि करिब ४ करोड रुपैयाँ बराबरको सेयर राखेका छन् । राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय हो । आफैं नियामक भएर आफैंले सेयर खरिद बिक्री गर्दा स्वार्थ बाझिने भए पनि गभर्नर अधिकारीले सेयर कारोबार गर्ने गरेको पाइएको हो । गभर्नर अधिकारीले आफ्नै नाममा, श्रीमती सरिता अधिकारी पोखरेलको नाममा, छोरा सौगात अधिकारी र छोरी महिमा अधिकारीको नामबाट सेयर खरिद बिक्री गर्ने गरेका छन् । उनले आफ्नो घर परिवारको नाममा मात्रै ३ करोड ८४ लाख हाराहारीको सेयर खरिद गरेर राखेका छन् । यसबाहेक अधिकारीले आफ्ना ससुरालीतर्फका आफन्तहरुको नाममा समेत सेयर राखेको राष्ट्र बैंक स्रोत बताउँछ । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधनसहित) मा भएको व्यवस्था अनुसार राष्ट्र बैंंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान्/श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा इजाजतप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न हुँदैन । सोही विनियमावलीमा कुनै बैंक तथा वित्तीय संस्थाको शेयर दोस्रो बजारबाट खरिद गर्न नहुने समेत स्पष्ट लेखिएको छ । यसको प्रतिकूल हुने गरी गभर्नर अधिकारी आफैंले र आफ्ना घरपरिवारका नाममा सेयर खरिद गरेका छन् । गभर्नर अधिकारीले पनि नियममा भएको लुपहोल खोज्दै दोस्रो बजारबाटै धमाधम सेयर उठाउने गरेका हुन् । राष्ट्र बैंकबाट अवकास पाएको केही वर्षमात्रै गभर्नर अधिकारी लगानी बोर्डको सीईओको रुपमा नियुक्त भए । २०७७ चैतमा गभर्नर नियुक्त भएका अधिकारीले गभर्नर नियुक्त हुनु केही समय अघिमात्रै सेयर आफ्नै नाममा खरिद गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्