अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपनः डा. कोईराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर पनि गरे । उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको बताए । नेता कोईरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने पनि बताए । कोईरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए । उनले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए । कोईरालाले नेपाली काँग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरु जस्तो जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्