इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न दिने भएको छ। सवारी तथा यातायात ऐन, २०४९ को केही बुँदा संशोधन गर्दै विद्युतीय गाडीमा परिवर्तन गर्न दिने भएको हो। सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। त्यसैमा तत्कालका लागि सामान्य संशोधन गर्दै इन्धन सवारीलाई विद्युतीय बदल्न दिने तयारी भएको हो।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांस तीन वर्षसम्म लागु नहुने गरी ‘वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ छुट दिने उल्लेख छ।यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इन्धनको सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न कानुनी बाटो खुलेको जानकारी दिए। ‘सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो,’ उनले भने, ‘अब इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नका लागि तीन वर्षसम्मका लागि अनुमति दिने व्यवस्था भएको छ।’इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा बदल्नका लागि ठोस कानुनी व्यवस्था अहिलेसम्म छैन। यसरी विद्युतीयमा बदलिने सवारी साधनको हकमा कर लगायतका नियम-प्रावधान के लागु हुने भन्ने अहिलेसम्म प्रष्ट छैन। सोही कारण यस सम्बन्धमा कानुन नबनुन्जेलसम्‍मका लागि भनेर सरकारले वैकल्पिक व्यवस्था गर्दै तीन वर्षसम्मका लागि अनुमति दिने भएको हो। इन्धन सवारीका रुपमा दर्ता भएर अब विद्युतीयमा रुपान्तरण हुने सवारीले यो तीन वर्षसम्म करमा पनि छुट पाउने छन्। अर्थात्, विद्युतीय सवारीलाई लाग्ने जत्तिकै कर मात्र लाग्ने घिमिरेको भनाइ छ।  अहिले विश्व बजारमा सवारी साधन रेट्रोफिटिङ गर्ने चलन सुरुवात भइसकेको छ। यसले सवारीलाई वातावरणमैत्री वा ऊर्जा खपत बढाउन र शुन्य कार्बन उत्सर्जन बनाउनमा ठूलो भुमिका खेलेको हुन्छ। सवारी साधनको हकमा ‘रेट्रोफिटिङ’ भनेको पुरानो प्रणालीमा नयाँ प्रविधि वा सुविधाहरू थप्नु हो। उदाहरणका लागि पावर प्लान्टको रेट्रोफिट, पावर प्लान्टको दक्षतामा सुधार, उत्पादन बढाउने वा उत्सर्जन घटाउने, गृह ऊर्जा रेट्रोफिट, ऊर्जा दक्षता उपकरणहरूसहित इन्धन गाडीहरूको विद्युतीयमा रुपान्तरण गर्नु हो। यो प्रविधिबाट कुनै पनि पेट्रोल र डिजलबाट चल्ने पुरानो सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सकिन्छ। घिमिरेले नयाँ व्यवस्थासँगै अब पुराना इन्धन गाडीलाई विद्युतीय बनाउनका लागि अनुमति दिने बताए। नयाँ विद्युतीय सवारीसाधन किन्ने पैसाको आंशिक मात्र खर्च गरेर सवारीसाधन इन्धनबाट विद्युतीयमा रुपान्तरण गर्न सकिन्छ। नयाँ सवारीसाधन आयात गर्नुको साटो यहीँ भएका पुराना इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गरेमा सवारीसाधन आयात गर्दा विदेशिने ठूलो रकम जोगाउन सकिने विज्ञहरुको भनाइ छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्