अर्थ राजनीति ~ पञ्चायतकालीन माले होस् वा बहुदलपछिको एमाले, पूर्वप्रधानमन्त्री माधव नेपाल पार्टीका कुशल संगठक मानिन्छन् । ६९ वर्षको उमेरमा अहिले पनि उनी उस्तै जोसजाँगरका साथ संगठन विस्तारमा देश दौडाहा गरिरहेका छन् । तर, यसपटक नेता नेपालसँग न पुरानो साख छ, न त उनीप्रति पहिलेजस्तो आकर्षण । गत भदौमा जन्मिएको उनको पार्टी एकीकृत समाजवादीको जरा गाउँसम्म नपुग्दै ३० वैशाखको स्थानीय चुनाव नजिकिएको छ । झण्डै १५ वर्ष एमालेको नेतृत्व हाँकेका नेता नेपाल चुनावका लागि परिपक्व छन् । तर, उनको नवगठित पार्टी एक्लै चुनाव लड्न कच्चै छ । त्यसैले चुनावी गठबन्धनको भर सबैभन्दा ज्यादा उनकै पार्टीलाई चाहिएको छ । अध्यक्ष नेपालले तीनवटै तहका चुनावसम्म वर्तमान सत्ता गठबन्धन कायम रहने बताइरहेका छन् । सत्ता गठबन्धन एक भएर चुनाव लड्दा एमाले ‘धुलोपिठो’ हुने भनिरहेका छन् । स्वयम् उनको पार्टीले भने एक्लै चुनाव लड्ने सामर्थ्य जुटाइसकेको छैन । पाँच दलीय गठबन्धन नभए एकीकृत समाजवादीको के हुन्छ ? महासचिव बेदुराम भुसाल बितेका आठ महिनामा आफ्नो पार्टी बलियो राजनीतिक शक्तिका रूपमा उदाइसकेको दाबी गर्छन् । कांग्रेस अझै चुनावी गठबन्धनबारे प्रष्ट भइसकेको छैन । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनलाई निरन्तरता दिने टुंगोमा पुगिसकेका छन् । तर, कुन मोडालिटीमा गठबन्धन गर्ने भन्ने प्रष्ट भइसकेको छैन । पार्टीभित्र शेखर कोइराला–गगन थापा समूह गठबन्धनको विपक्षमा उभिएकाले उनले चाहेजसरी काठमाडौंबाटै देशैभरको गठबन्धन घोषणाको सम्भव भने देखिँदैन । राजनीतिशास्त्री जनार्दन आचार्य माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई नोक्सान गर्न सक्ने भए पनि एक्लै जित्ने सामर्थ्य आफूले कतै नदेखेएको बताउँछन् । ‘माधव नेपालको पार्टी नउदाउँदै अस्ताउन लागेजस्तो देख्छु । आफूलाई साथ दिने कार्यकर्ता बटुलेर उनले देशैभर कमिटी त बनाएका छन्, तर ती कमिटीले गरि खालान् जस्तो लाग्दैन’, उनले भने, ‘आफ्नो शक्ति बुझेरै उनले गठबन्धनको रट लगाइरहेका छन् ।’ एकीकृत समाजवादीको तुलनामा माओवादी केन्द्रको संगठन र जनाधार बलियो रहेको आचार्य बताउँछन् । ‘एक्ला–एक्लै लड्दा पनि माओवादी केन्द्रले आफ्नो आकार अनुसारको जित हासिल गर्छ । उसको तुलनामा एकीकृत समाजवादीको गणना हुँदैन’, उनी भन्छन्, ‘आठ महिनामा पार्टी जति हुर्किनुपर्थ्याे, तर हुर्किएन । त्यसैले एक्लै उसले कतै जित्ने ठाउँ छैन ।’ एकीकृत समाजवादीका केन्द्रीय नेताहरू पार्टी विभाजनको औचित्य पुष्टि गर्न अहिले भरमग्दुर प्रयास गरिरहेका छन् । तर, तल्लो तहका कार्यकर्ताले विभाजनको कारण नेताको जुँगाको लडाइँ र कुन्ठाबाहेक अरु नेदेखेको ठान्छन्, राजनीतिशास्त्री आचार्य । ‘एकले अर्कालाई स्वाद चखाउन गठबन्धनको अलाप छ । माधवजी बाहिरबाट हेर्दा जति सरल देखिनुहुन्छ, भित्र उत्ति नै कुटिल हुनुहुन्छ । तर पार्टी विभाजनमा उहाँ फस्नुभयो’, राजनीतिशास्त्री आचार्य भन्छन्, ‘विगतमा उहाँमाथि कार्यकर्ता संरक्षण गर्न नसकेको आरोप थियो । अब निकट कार्यकर्ताको भविष्य बिगारेको आरोप लाग्नेवाला छ ।’ २०५४ को एमाले विभाजनमा मालेतर्फ लागेका पराजुलीले भने, ‘त्यतिबेला ४० प्रतिशत नेता कार्यकर्ता र संगठन हामीसँग थियो । एमालेको संरचना पुरै तहसनहस भएको थियो । अहिले त्यस्तो धेरै कार्यकर्ताको साथ नदिएको साँचो हो । तर, हामी संगठन बनाउन लागिपरेका छौँ ।’