अर्थ राजनीति ~ दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ । चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्रपाले मोरङको कमाण्डर तोकेको छ । झापामा राप्रपाका तीन हस्तीमध्ये थापा एक मानिन्छन् । राप्रपाका तीन नेतामध्ये पार्टी अध्यक्ष बनेका राजेन्द्र लिङदेन ०७४ को चुनावमा केपी ओलीको साथ पाएर प्रतिनिधिसभा सदस्य बनिसकेका छन् । अर्का हस्ती एवं केन्द्रीय सदस्य अम्बरबहादुर विष्ट एमालेसँग गठबन्धन बन्न नसक्दा हालै राष्ट्रिय सभाको चुनावमा पराजित बनेका छन् । अब राम थापाको पालो आएको छ, दमक नगरपालिकाको मेयर बनेरै छाड्ने सपना बुनेका थापालाई नेकपा एमालेले सघाउँछ या सघाउँदैन ? आगामी वैशाख ३० मा हुने दमक नगरपालिकाको चुनावमा एमाले र राप्रपाबीच तालमेल भएन भने संसदीय चुनावमा पनि एमालेसँग झापामा भोट साटासाटको सम्भावना कमै देखिएको छ । तराई मधेसमा काँग्रेस, माओवादी र जसपाको प्रभाव क्षेत्र भत्काउने रणनीतिमा लागेका एमाले अध्यक्ष ओलीले शायद आफ्नो गृहनगर दमकमा एमालेलाई कसैले चुनौती दिन नसक्ने सोचेका छन् । तर, दमक नगरपालिकाभित्र राप्रपा ‘सुतेको बाघ’ जस्तै पोजिसनमा देखिएको छ, जसको भूमिकाले नै आगामी चुनावमा एमालेको शिकार निश्चित हुनेछ । दमक नगरपालिकाको विशेषता अन्य स्थानीय तहको भन्दा फरक छ । देशैभरि प्रायः काँग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहँदा दमकमा भने एमाले र राप्रपा एक–अर्काका प्रतिस्पर्धी हुन् । ०७४ को स्थानीय चुनावमा यहाँ एमाले पहिलो र राप्रपा दोस्रो बनेका थिए भने माओवादी तेस्रो र काँग्रेस चौथो शक्तिमा खुम्चिएका थिए । नगरपालिकामा राप्रपासँग प्रतिस्पर्धा गरेको एमालेले संघीय चुनावमा भने राप्रपासँगै साँठगाँठ गरेको थियो । ०७४ को संसदीय चुनावमा झापामा ओली र लिङ्देनबीच भोट साटासाट भयो । ओलीले क्षेत्र नं ३ मा लिङ्देनलाई सघाए भने क्षेत्र नं ५ मा राप्रपाले ओलीलाई सघायो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र केपी शर्मा ओली नेतृत्वको राप्रपाबीच झापामा ०७४ सालको संसदीय चुनावमा जस्तै आसन्न स्थानीय चुनावमा पनि गठबन्धन होला त ? एमाले र राप्रपाबीच यसपालि गठबन्धन बन्छ, बन्दैन भन्ने हिसाब किताब अब दमक नगरपालिकाबाटै निश्चित हुने राम थापाको विश्लेषण रहेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति