कांग्रेसबाट को बन्लान् काठमाडौंमा मेयर ?

Machchapuchchre

अर्थ राजनीति  ~  संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् । आकांक्षी मध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिलाई  तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, उहाँले तयार हुन भन्नुस् भनिसक्नुभएको छ ।’पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । २०७४ सालमा पनि उनी मेयरका दाबेदार थिए । यो पटक पनि उनी दाबेदार हुन् । तर कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । त्यसैले मेयरको टिकट हात पार्न डंगोलले सिंहको पनि साथ पाउनुपर्ने हुन्छ । नेता सिंहले भने महानगरकै उपमेयर हरिप्रभा खड्गीलाई मेयरमा अघि सार्न खोजेका छन् । प्रधान भन्छन्, ‘प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई उपमेयरको उम्मेदवार बन्ने अवस्था आए डंगोललाई स्वीकार्नु होला जस्तो लाग्छ ।’डंगोललाई सिंहले स्वीकार नगर्ने र खड्गीलाई उम्मेदवार बनाउन देउवा तयार नभए तेस्रो विकल्पको खोजी हुनसक्ने जिल्ला तहका एक नेता बताउँछन् । त्यो बेला सपना जोशीको सम्भावना हुन्छ । जोशी दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी हुन् । कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँ भने सांसद भीमसेनदास प्रधानलाई नै मेयरमा अघि सार्न चाहन्छन् । बानियाँ निकट एक जिल्ला तहका नेताले भने, ‘भीमसेन दाइ मेयरमा उठ्नुभयो भने सबुज दाइलाई काठमाडौं-६ बाट सांसदको टिकट पाउने बाटो खुल्छ ।’ प्रधानले भने सांसद पद त्यागेर महानगरको प्रमुखमा उम्मेदवारी दिने रुचि नभएको बताएका छन् । काठमाडौं महानगरको प्रमुख उम्मेदवार बन्ने दौडमा राजुराज जोशी, नीलकाजी शाक्य, सुशन वैद्य, प्रगतिमान रञ्जित, मुकुन्द रिजाललगायत छन् । जोशी अघिल्लो निर्वाचनमा पराजित भएका थिए । काठमाडौं २५ का वडाध्यक्ष शाक्य काठमाडौं महानगरको कांग्रेस सभापति हुन् । बैद्य महानगरपालिकाका सचिव हुन् । रञ्जितले काठमाडौं महानगरको कांग्रेसको सभापतिमा पराजय भोगेका थिए । उनी वडा नम्बर १६ का वडाअध्यक्ष पनि हुन् । जोशी, शाक्य र रिजाल नेता प्रकाशमान सिंह निकट हुन् । रञ्जित सभापति देउवा पक्षधर हुन् भने वैद्य महामन्त्री गगन थापा निकट छन् । ‘महानगरको प्रमुखमा आकांक्षी धेरै नै हुनुहुन्छ । युवापुस्ताबाट उम्मेदवार बनाउनुपर्छ भन्ने आवाज पनि उठेको छ’, प्रमुखका आकांक्षी वैद्यले भने । महानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ । महानगर समितिले सिफारिस गरेका तीन नाम (एक महिला अनिवार्य) मध्येबाट केन्द्रले उम्मेदवार चयन गर्नेछ । चैत ११ मा बस्ने केन्द्रीय समिति बैठकले संसदीय समिति गठन गर्नेछ भने आसन्न निर्वाचनमा तालमेल गर्ने/नगर्ने निर्णय पनि लिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्