अर्थ राजनीति ~ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिनु भएको छ । ओलीकै घमण्डका कारण बामपन्थीहरूको दुईतिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए । गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दावी गर्दै ओलीले अव घमण्ड गर्न नमिल्ने बताए । नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन । तपाईहरू मूल्यांकन गर्नुहोस् । जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन् ।