ग्राउण्ड बुझेपछि मात्रै चुनावी गठबन्धनबारे निर्णय लिने तयारीमा कांग्रेस

Machchapuchchre

अर्थ राजनीति  ~  स्थानीय तहकाे निर्वाचन आउन दुई महिना बाँकी छँदा सत्तारुढ गठबन्धनकाे नेतृत्वकर्ता दल कांग्रेसमा एक्लै चुनावमा जाने वा गठबन्धन लिएरै भन्ने अन्याेल देखिएकाे छ । चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा अहिले तीन धार देखिएकाे छ । सभापति शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरू सत्ता गठबन्धनको निरन्तरताको पक्षमा छन् । नेता शेखर कोइराला सहित उनकाे टिम चुनावी गठबन्धनको विपक्षमा छ । कम्युनिष्टसँगकाे गठबन्धन प्रभावकारी नहुने भन्दै एक्लै लड्नुपर्ने पक्षमा उनी छन् । तेस्रो धार स्थानीय तहमा पार्टीकाे ‘स्ट्रेन्थ’ विश्लेषण गरी अनुकूलतामा तालमेल गर्ने भन्नेमा देखिएको छ । महामन्त्री गगन थापा सहितको टोली तेस्रो धारमा देखिएको छ । २० फागुनमा कास्की पुगेर महामन्त्री थापाले स्थानीय तहको वस्तुस्थिति हेरेर पार्टीले निर्णय लिने बताएका थिए । पार्टीले काठमाडौंबाट कुनै निर्देशन नदिने थापाकाे भनाइ थियाे । कांग्रेसले जिल्ला दौडमा निस्किएका केन्द्रीय प्रतिनिधिहरूको पालिकागत वस्तुस्थिति बुझेपछि चुनावी गठबन्धनको विषयले औपचारिक प्रवेश पाउने देखिन्छ । कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयले जिल्लाको वस्तुस्थिति बुझ्न पार्टीले निर्देशन दिएको बताइन् । केन्द्रीय प्रतिनिधिका रूपमा ओखलढुंगा खटिएकी बजिमयले आउने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीलाई स्थानीय तहको स्टेन्थबारे रिपोर्टिङ गर्ने बताइन् । त्यही बैठकले सत्ता गठबन्धनको निरन्तरता वा एकल प्रतिस्पर्धा टुंगो लगाउनेछ । उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गर्ने वा नगर्ने मात्र होइन, गठबन्धन गर्ने भए कुन मोडालिटीमा जाने भन्नेबारे पनि आउने केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने बताएका छन् ।कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका दुईवटा अभिव्यक्तिले उनी गठबन्धनको पक्षमा देखिएका छन् । र, चुनावपछिको सरकार सुनिश्चितता पनि देउवाले खोजिरहेको देखिन्छ । बिहीबार दिउँसो वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन गर्दा मात्रै सरकारको निरन्तरता हुने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्