” एमसीसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ ” : वरिष्ठ नेता पौडेल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसीसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताए । सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसीसीबारे अब वास्तविक रूपमा सदनमा छलफल हुने प्रतिक्रिया दिए । पूर्वसभामुखसमेत रहनुभएका पौडेलले भने, ‘एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद् मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उहाँले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताए । वरिष्ठ नेता पौडेलले भने, ‘एमसीसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौं । सैद्धान्तिक रूपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।’ देशसँग जोडिएको महत्वपूर्ण विषय एमसीसीबारे संसदमा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउँदै उनले भने, ‘हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ । देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्