अर्थ राजनीति ~ बैंकले कर्जामा बढाउँदै गएको व्याजदर र सामान आयात गर्दा एलसीमा (लेटर अफ क्रेडिट)मा सत प्रतिशत भुक्तान प्रणाली तत्काल परिमार्जन गर्न लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीले गरेका छन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश उधोग प्रवद्र्धन समितिले भैरहवामा आयोजना गरेको अन्तरक्रियामा उद्योगी व्यवसायीले मनलाग्दो तरीकाले कर्जामा व्याज बढाउँदै जादा महगी बढदै जाँदा त्यस्को प्रत्यक्ष असर आम उपभोक्तामा पर्ने बताएका हुन् । व्याजदर बढाउँदै जाने हो भने सडकमै आउनु पर्ने अवस्था आउने उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उता सामान आयात गर्न एलसी खोल्दा सुरुमै सतप्रतिशत एलसी खोल्ने प्रावधानले स्वदेशी उद्योगी व्यवसायीलाई नोक्सान र विदेशीलाई अत्यधिक फाइदा पुगेको शर्माले दावी गरे ।
एलसीको नयाँ प्रावधान आउनु अघि एलसी खोले पनि सामान भन्सार विन्दुमा आएपछि मात्रै रकम बुझाउने व्यवस्था थियो । तर अहिले एलसी खोल्दा नै सामानको मूल्य बराबरको(सतप्रतिशत) एलसी खोल्नु पर्ने प्रावधान छ । यसले ३ महिना पछि सामान आउने वस्तुको पनि अगाडि नै रकम पठाउदा आर्थिक व्ययभार बढेको उनीहरुको भनाइ छ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले कर्जाको व्याज बढिरहेकाले यसले आर्थिक ग्राफ नकारात्मक हुने भन्दै सरकारले हस्तक्षेप गर्नु पर्नेमा जोड दिए । नवलपरासीको युवा उद्योगी एवं उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य विरेन्द्र अग्रहरीले एलसीको समस्या यथावत रहँदा बैंकले ब्याजदर बढाउँदै लैजादा उद्योगी व्यवसायी मर्कामा परीरहेको र यसको प्रत्यक्ष मारमा सर्वसाधारण पर्ने भएकाले नियन्त्रण गर्न आग्रह गरे । कोरोनाले थला परेको उद्योग व्यवसायलाई राहतका प्याकेजहरु आउनु पर्नेमा नयाँ नियमले अप्ठेरोमा पारेको उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले उद्योग व्यापार गर्न समस्या थपिँदै गएको भन्दै अहिलेको समयमा ब्याज बढाउन नहुने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले बैंकले बढाएको चर्को व्याजदर स्विकार गर्न नसकिने बताए । व्यवसायी ठाकुर श्रेष्ठले अस्वाभाबिक रुपमा बढेको व्याजदरले मूल्यवृद्धी भएको बताउँदै राष्ट्र बैंकले खुला अर्थतन्त्र अन्तरगत सबै बैंकहरुलाई खुला छाडनु पर्ने जनाए ।