आज सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक छलफल हुँने

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना (एमसीसी) स‌ंसदमा टेबल गरेर पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज (बिहीबार) निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग दिउँसो ३ बजे बैठक बोलाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहेको सरकार दुई दिन पछि सार्न बाध्य भएको थियो । गठबन्धनमा रहेका अन्य चारै दल विपक्षीमा उभिएपछि एमसीसी अघि बढ्न नसकेको हो। गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताएको छ । अर्को जनता समाजवादी पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीकै निर्णय पर्खिरहेको छ। माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका थिए। जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यता प्रधानमन्त्रीलाई सुनाएका थिए । आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गरे । तर देउवाले त्यसमा सहमति जनाएनन् । तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने बताएका थिए । एक्ला-एक्लै भएको भेटबारे दुवै नेताले आफूनिकट नेतालाई जानकारी गराएका थिए । गठबन्धन सरकारको नेतृत्व गरेका देउवा सहयात्री दलनै साथ नदिँदा समस्यामा परेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्