अर्थ राजनीति ~ पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापन अधिकारी र एसएमईसी इन्टरनेशनलका पदाधिकारी पनि उपस्थित थिए ।
समझदारीपत्र अनुसार सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटी निर्माण गर्न आवश्यक पर्ने प्रारम्भिक अध्ययन, परियोजनाको संरचना खाका, एवं अन्तर्राष्ट्रिय सफल अभ्यासहरु अध्ययन र विशेलेषण गर्ने छ । सो कार्यका लागि निफ्राले सहकार्य गर्ने बताइएको छ । निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालासँगको समन्वयमा आवश्यक लगानी पनि जुटाउने बताइएको छ । पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गा धनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण गर्ने सम्झौतामा उल्लेख छ । नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको यस प्रकारको स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगट्ने बताइएको छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।