अर्थ राजनीति ~ आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिका समेत स्वीकृत गरिसकेको छ । आयोगद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव गोकर्णमणि दवाडीले निर्वाचनलाई सफल तुल्याउन सघन तयारीमा जुट्नका साथै कार्यतालिकासमेत स्वीकृत गरिसकेको जानकारी दिए । निर्वाचनको अन्तिम मतदाता नामावली तयारी गर्ने, सामग्रीको व्यवस्थापन गर्ने, राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्नेलगायतका क्रियाकलाप निर्वाचन कार्यतालिकामा समेटिएको छ । निर्धारित मतदानस्थलमा मतदान केन्द्र तोक्ने, निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने कार्यतालिका छ । मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्नेलगायतका क्रियाकलाप समावेश गरी कार्यतालिका स्वीकृत गरिएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको परामर्शमा उक्त मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारले मिति घोषणा गरिसकेको छ । मतदाता नामावली सङ्कलन नियमितरूपमा हुँदै आएकामा निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य गत पुस २५ गते नै स्थगित भएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति