ओलीको प्रस्ताव : ” सभामुख हटाए एमसीसी पास गर्न सघाउँछु “

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ । प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि  ओलीसंग सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् । ‘केपीजीले सभामुखलाई हटाऔं, त्यसमा तपाईंले गठबन्धनका अरु नेताहलाई सहमत गराउनुस् । एमसीसी पास गर्न म समर्थन गर्छु भन्नुभएको रहेछ,’ प्रधानमन्त्रीको ब्रिफिङ सुनेका कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् । तर ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए सघाउन वचन दिएका कारण उनले फेरि एमसीसी अनुमोदन गर्ने प्रयत्न थालेका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।

कांग्रेस र एमाले मिल्दा पनि एमसीसीलाई संसदमा अगाडि बढाउन सभामुख बाधक बन्न सक्छन् । अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदमा लैजान सहयोग नगरेको ओलीको आरोप छ । संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले राजीनामा दिए । तत्कालीन नेकपाका अध्यक्ष र तत्कालिन प्रधानमन्त्री ओली आफू निकट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्थे, तर प्रचण्डको जोडबलमा अग्नि सापकोटा सभामुख बने । पछिल्लो पटक एमाले विभाजनका लागि भूमिका खेलेको आरोप लगाउँदै ओली सभामुख सापकोटासँग रुष्ट छन् । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचारलाई रोकेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । उसले १४ जनालाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । यही फेब्रुअरी महिनाभित्र एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने दबाव पनि प्रधानमन्त्री देउवामाथि छ । त्यसैले उनले गठबन्धन जोगाउने शर्तमा प्रचण्ड र माधव नेपालहरुलाई नै एमसीसी अनुमोदनका लागि मनाउने वा एमालेलाई साथ दिएर एमसीसी अनुमोदन गर्ने एक विकल्प रोज्नसक्छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्