अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोल अभाव तत्काल हटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बुधबार सिटामोल लगायत औषधिको अभाव भएको जानकारी आएको भन्दै यस्ता औषधिको अभाव तत्काल हटाउन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावको विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् । औषधीको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार पार्नुका साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको दाबी गरेका छन् । हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको बताउँदै उनले स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको दाबी गरेका हुन् ।