पाल्पाको रानीमहल पनि अब संग्रहालय

Machchapuchchre

अर्थ राजनीति  ~  नारायणहिटीलाई संघीय सरकारले संग्रहालयमा परिणत गरेजस्तै पाल्पाको रानीमहललाई पनि संग्रहालय बनाइएको छ। यो काम भने तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर गरेको हो। नेपालको ताजमहलका रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको छ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए। हालसम्म करिब ४० लाख खर्च भइसकेको बताउँदै उनले आवश्यक बजेट बढाउँदै जाने जानकारी दिए। रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित रु १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने उनले बताए।   नगरपालिकाका अधिकृत शंकर भण्डारीका अनुसार करिब दुई महिनाको मेहनतले दरबारलाई संग्रहालयका रूपमा विकास गर्न सकिएको  हो। हराएका पुरातात्विक सामग्रीमध्ये १ सय ६६ वटा फिर्ता ल्याएर संग्रहालयमा राखिएको उनले बताए। विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ। तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रानीमहलमा घुमघाम युवापुस्ताको रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्