घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति

Machchapuchchre

अर्थ राजनीति  ~  माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए। देवघाटको मुख्यस्थलमा शुक्रबारदेखि नै प्रहरीले आउजाउ निषेध गरेको थियो। तराईबासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्। वर्षभर ननुहाए पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख भएको एक धर्मशास्त्रविद्ले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्