अर्थ राजनीति ~ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। ‘असंवैधानिक’ केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध बुधबार उजुरी परेको हो। विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग भएको छ। चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए। विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको भए पनि चौधरीको उक्त अवधि नपुग्ने दाबी यादवले गरेका छन्।
चौधरीविरूद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएकोले आयोग आउनुपरेको निवेदनमा यादवले उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेसको विधान विपरीत हुने गरी निवाचित भनिएको चौधरीको सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु,’ यादवले भनेका छन्।