अर्थ राजनीति ~ बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार सयभन्दा धेरै प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गर्न भने चासो दिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अन्तिम चरणमा पु¥याएको यो प्रकरणमा धेरैलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । बिचौलियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई थुनामा राखी बयान भए पनि अन्यलाई पक्राउ नै नगर्दा मुद्दा कमजोर बन्ने जोखिम छ । चारवटा मुद्दामा गरेर झन्डै साढे चार सय प्रतिवादी तय भएको र त्यसमध्ये केही व्यक्ति सबैजसो मुद्दामा प्रतिवादी रहेको सिआइबी उच्च स्रोतले बताएको छ । सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको र छिटै रायसहितको प्रतिवेदन बुझाइने बताए । सिआइबीले भूमि व्यवस्था र भौतिक योजना मन्त्रालयका तत्कालीन सचिवसम्मलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउन लागेको छ । भौतिक योजनाका तत्कालीन सचिव दीप बस्न्यात तथा भूमिसुधारका छविराज पन्त र दिनेशहरि अधिकारीसम्मलाई पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै, पूर्वगृहसचिव नारायणगोपाल मलेगोविरुद्ध समेत मुद्दा चल्ने भएको छ । उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव हुँदा यससम्बन्धी निर्णयमा सहभागी थिए । त्यतिवेला सरकारी निवास विस्तारका नाममा ललितानिवास क्याम्पको थप जग्गा हिनामिना भएको थियो । त्यतिवेला विजयकुमार गच्छदार भौतिक योजनामन्त्री र दीप बस्न्यात सचिव थिए । गच्छदारलाई अख्तियारले मुद्दा चलाए पनि सिआइबीले भने सचिवभन्दा माथिल्लो तहलाई नछुने भएको छ । पूर्वसचिव मलेगोसँग अख्तियारले बयान लिए पनि उनलाई प्रतिवादी बनाएको थिएन । सिआइबीले पनि यसमा उनको पनि मिलेमतोको निष्कर्ष निकालेको छ । सरकारी निवास विस्तारसम्बन्धी योजना मन्त्रिपरिषद्मा पेस गर्न उपयुक्त हुने राय उनको पनि थियो । मलेगो ०६६ देखि ०६९ सम्म भौतिक मन्त्रालयको सचिव थिए ।
बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया शोभाकान्त ढकालले एक अर्ब २० करोड कर छलीसमेत गरेको खुलेको छ । उनको नाममा रहेको आनसान इन्टरनेसनल नामक कम्पनीमार्फत मात्र एक अर्ब २० करोड ४९ लाख ७६ हजार रुपैयाँ कर छली गरेको अभियोगसहित राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । शोभाकान्तसहित उनकी पत्नी उमा ढकाल, छोरा सरोज ढकाल र व्यावसायिक साझेदार सान्टु श्रेष्ठविरुद्ध विभागले मुद्दा दायर गरेको हो । चार्टर एकाउन्टेन्ट समेतको मिलेमतोमा कर छली भएको विभागको दाबी छ । राजेश्वर एन्ड कम्पनीका चार्टर एकाउन्टेन्ट राजेश्वर श्रेष्ठविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय–विवरण तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शून्य देखाई कर छली गरेको अभियोगमा उल्लेख छ । दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर दायर भएको छ ।