देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र

Machchapuchchre

अर्थ राजनीति  ~  चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताए ।  प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनको देवघाटतर्फ प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४८१ सुरक्षाकर्मी परिचालन गरिने बताए । त्यस्तै तनहुँतर्फ १५० प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुशील लामिछानेले बताए ।  नवलपुरतर्फ ६० भन्दा बढी प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीका प्रहरी नायब उपरीक्षक सुशील शाहीले विपद् व्यवस्थापन गर्नसमेत सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताए । मेला अवधिभर लोडसेडिङ नहुने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जनाएको छ ।

त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट ¥याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन् । सो क्षेत्रमा कम्तीमा ३० ¥याफ्टिङ डुङ्गा सञ्चालन गरिने ¥याफ्टिङ डुङ्गा संयोजक सिर्जन शर्माले बताए । नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा रु ३५ तोकिएको छ । देवघाट क्षेत्र विकास समितका अध्यक्ष बद्रीप्रसाद अधिकारीले तीनवटै जिल्लासँग समन्वय गरेर देवघाट मेलाको तयारी भइरहेको बताए । मेलामा पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्