अर्थ राजनीति ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा ‘मौन’ बसेका र पराजित भएका नेताहरूलाई केन्द्रीय समितिमा समेटेका छन्। देउवाले समावेशी सिद्धान्तका आधारमा केन्द्रीय समितिमा ३३ जनालाई मनोनीत गर्न पाउँछन्। शनिबार उनले नेता रामचन्द्र पौडेललाई पनि केन्द्रीय सदस्य मनोनीत गरे। पौडेल मंसिर २४ देखि २७ गतेसम्म भएको महाधिवेशनको प्रक्रियाबाटै अलग रहेका थिए। देउवाले पहिलो चरणमा पौडेलसहित १० नेतालाई केन्द्रीय समितिमा लगेका छन्। आफूलाई महाधिवेशनमा सहयोग गरेका नेतालाई प्राथमिकता दिँदै पहिलो चरणमै देउवाले उनीहरूलाई केन्द्रीय सदस्य बनाएका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। पौडेल महाधिवेशनमा कतै पनि खुलेका थिएनन्। अरू ९ जना भने देउवालाई समर्थन गर्ने नेताहरूमा पर्छन्। पौडेल मौन बसेर देउवालाई सभापतिमा सहयोग गर्न खोजेको आरोप महाधिवेशनका बेला लागेको थियो। पौडेलले नै राखेको चियापानमा कार्यकर्ताले नाराबाजी गर्दै विरोधसमेत गरेका थिए।
देउवाले दोस्रो चरणको निर्वाचनबाट सभापति जितेका थिए। उनलाई त्यसबेला सभापतिमा पहिलो चरणमा पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरेका थिए। सभापतिमा समर्थन गर्नेमध्ये गुरूङलाई भने देउवाले पहिलो चरणमा केन्द्रीय सदस्य मनोनीत गरेनन्। महाधिवेशनमा देउवा पक्षबाटै उपसभापति उम्मेदवार बनेका गच्छदार र सिंह पक्षबाट उपसभापति उम्मेदवार बनेकी कोइराला पराजित भएका थिए। गच्छदार र कोइरालालाई पनि देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। सिंहले दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गर्दा आफूनिकट केहीलाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्छ भनेका थिए। यसपालि पूर्वमहामन्त्री सिटौला भने सभापति उठेनन्। सभापतिमा उनले देउवालाई समर्थन गरेका थिए। एक महामन्त्री र एक सहमहामन्त्री लिएर देउवासँग संयुक्त प्यानल बनाएका सिटौलालाई पनि देउवाले पहिलो चरणमै केन्द्रीय सदस्य बनाएका छन्। सिटौलानिकट तर देउवा पक्षकै महामन्त्री उम्मेदवार बनेर पराजित भएका प्रदीप पौडेल भने पहिलो चरणमा केन्द्रीय सदस्य मनोनीत भएनन्। तर देउवाले महामन्त्रीका अर्का उम्मेदवार प्रकाशशरण महतलाई भने केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन्। उपसभापतिका आकांक्षी नारायण खड्का केन्द्रीय सदस्य पनि उठेका थिएनन्। परराष्ट्र मन्त्रीसमेत रहेका खड्कालाई देउवाले शनिबार केन्द्रीय सदस्य मनोनीत गरेका छन्।नेपाल महिला संघकी अध्यक्ष एवं महिला, बालबालिका मन्त्री उमा रेग्मी पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्। सभापति देउवाले नेपाल दलित संघका अध्यक्षसमेत रहेका मीनबहादुर विश्वकर्मालाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका छन्। विश्वकर्माले महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएको तर नाम देखिएको भन्दै फिर्ता लिएका थिए।