अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ। आइतबार १ बजे उद्घाटन हुने भनिएको सम्मेलन २ घन्टा पछि सरेको हो। स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ। सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भए पनि महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको महराले जानकारी दिए।महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको महराले बताए।
यस राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । राष्ट्रिय महाधिवेशनको सुरक्षार्थ एसपीको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि ३५० भन्दा बढी प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए । यसैगरी रानीपोखरी र दरबारमार्गका डिएसपीका कमाण्डमा रिजर्भ टोली पनि परिचालन गरिएको छ । नेपाल प्रहरीका साथै, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोली पनि कार्यक्रम स्थल र मुख्य सडक क्षेत्रमा खटाइएको छ । गतिविधि निगरानीका लागि सीसीटीभीबाट अनुगमनको व्यवस्थासमेत मिलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । आन्तरिक व्यवस्थापनमा माओवादीको युवा संगठन वाईसीएल लगायत जनवर्गीय संगठनका स्वयंसेवक टोली खटाइएको छ ।