” अहिले पार्टीलाई प्रचण्डकै आवश्यकता छ ” : जनार्दन शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~ राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा जान लागेको नेकपा माओवादी केन्द्रमा सबभन्दा धेरै चासोका साथ हेरिएको पद हो महासचिव । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतजस्तै देखिँदा महासचिवमा भने थुप्रै नेताको दाबी छ । दावेदारमध्ये एक हुन् जनार्दन शर्मा प्रभाकर । आफू अहिले संगठन विभाग प्रमुख भएकाले पनि संगठनकै कार्यकारी काम गर्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए । ‘त्यही भए हुन्छ, नभए हुँदैन भन्ने पनि छैन,’ उनले भने, ‘तर मैले अहिले गरिरहेको कामले स्वतः त्यही भूमिका माग गर्छ । कार्यकर्ताले मेरो महत्व बुझे र, तँ होस् भनेछन् भने हुन्छु, भनेनन् भन्ने हुन्न ।’ माथि आइपुग्दा अहिले अध्यक्ष कमरेड प्रचण्डको विकल्पमा अर्काे मान्छे आएर पार्टीको राजनीति, मुलुकको परिस्थितिलाई ह्यान्डिल गर्न सक्छन् जस्तो लाग्या छैन । यो पार्टीलाई अर्काे ठाउँमा लैजाने अभियानमा अध्यक्ष कमरेडकै नेतृत्व आवश्यक छ, यसमा कसैको विरोध छैन । यसको अर्थ यो होइन कि, अरु कोही मान्छे छैनन् । यो त पार्टी र देशको आवश्यकता हो । देशमा सामान्तवाद, राजतन्त्र जान्छ भनेर कसैलाई लागेको थियो ? थिएन । जान्छ भनेर त्यो नारा, कार्यक्रम र विचार ल्याएर प्रचण्ड आउनुभयो । हामी उहाँको साथमा उभियौं । जुन अधिकार स्थापित भएका छन्, त्यसलाई कार्यान्वयन गरेर एक हदसम्म पूर्णता दिन राष्ट्रलाई प्रचण्डको आवश्यकता छ । विचार र त्यागको वस्तुगत आवश्यकता, समग्र राजनीतिक परिस्थिति र वैचारिक स्पष्टताको तालमेल विना नेतृत्व निर्माण त हुन सक्दैन । अहिले राष्ट्रिय राजनीतिमा अध्यक्ष कमरेड प्रचण्डकै आवश्यकता छ । यो आन्दोलनलाई एउटा ठाउँमा संश्लेषण गर्ने दृष्टिकोणले पनि, हामीले स्थापित गरेको अधिकार कार्यान्वयन गर्ने दृष्टिकोणले पनि त्यो नै अहिले हाम्रो पार्टीको हित र देशको हितमा छ । त्यसकारण प्रचण्डको आवश्यकता छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्