एमालेद्वारा बागमती प्रदेशसभा अवरोध

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेले  बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ । वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । बिहीबारको बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कर्यसुची थियो । साथै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेश गर्ने बिहीबारको कार्यसुची भएपनि एमालेको अवरोधका कारण बैठक चल्न सकेन । वैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । सभामुमख सानुकुमार श्रेष्ठले उनीहरुलाई पटक पटक बस्न आग्रह गर्दा समेत विरोध गरिरहे । ‘विना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको छ । हामीले यसको जवाफ मागिरेहका छौ, तर मुख्यमन्त्री बैठकमै नआउने र बैठकबाट भागेर हिड्ने गरिरहनुभएको छ ।यस्तो गर्न पाइदैन । सदनमा आएर उहाँले जवाफ दिनुपर्छ’, एमाले सांसद तथा पुर्व मन्त्री केशवराज पाण्डेको भनाइ छ । एमाले अवरोधका कारण बैठक अघि नबढेपछि सभामुख श्रेष्ठले अर्को सुचना नआएसम्म बैठक स्थगित भएको सूचना पढेर सुनाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्