राप्रपा नेता लिङ्देन गृहजिल्ला झापामा दौडधूप बढाउदै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उद्घाटन सत्रमा लिङ्देनले ‘नेतालाई गाउँघरमा चोर भनिने’ अभिव्यक्ति दिएपछि ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका थिए । लिङ्देन र ओली तिनै नेता हुन्, जसले यसअघि एकअर्काको सहयोगमा झापामा चुनाव जितेका थिए । अहिले ओलीले लिङ्देनलाई ‘बाच्छो’को संज्ञा दिएपछि अब उनीहरुको सम्बन्ध कस्तो होला र आगामी चुनावमा झापामा राप्रपा र एमालेको सहकार्य होला कि नहोला भन्ने चासो बढेको छ ।यही चासो र चर्चाकै बीच राप्रपा अध्यक्ष लिङ्देन यतिबेला गृहजिल्ला झापा पुगेका छन् । शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए । यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता– कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन । ६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । राप्रपा गौरादह नगर कमिटी अध्यक्ष शान्तिराम पौडेलले झापामा पार्टी अध्यक्षको मंगलबारसम्म कार्यक्रम रहेको बताए । विशेषतः कार्यकर्ता भेला, पार्टी प्रवेश र सम्मान कार्यक्रममा लिङ्देनको सहभागिता भएको उनको भनाइ छ । गौरीगञ्ज, दमक, कमललगायतका स्थानमा कार्यक्रम गरिएको र जनसहभागिता उत्साहजनक रहेको उनको भनाइ छ । यो क्रम मंगलबारसम्म जारी रहने उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्