एमालेको प्रतिनिधिसभा अवरोध कहिसम्म कायमै ?

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रमुख विपक्षी दल नेकपा एमाले बाहेकको सर्वदलीय बैठक बस्यो । बैठकले एमालेलाई प्रतिनिधिसभाको अवरोध तोडेर सरकारलाई खबरदारी गर्ने र जनताको आवाज उठाउने विपक्षी दलको भूमिका निर्वाह गर्न आग्रह गरेको छ । तर एमालेले भने सर्वदलीय बैठकमा नआउने र प्रतिनिधिसभामा गरिरहेको अवरोध कायमै राख्ने अडान लिएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पार्टीले लिएको नीति बाध्यकारी र राजनीतिक भएको बताउँछन् । ‘एमाले विरुद्ध सभामुख खनिनु भएको छ, सरकारले अध्यादेश ल्याएर हाम्रो पार्टी विभाजित गर्‍यो । न्यायालय र निर्वाचन आयोग विरुद्ध भयो । पार्टी विरुद्ध बनेको संयुक्त मोर्चाबारे अपील गर्ने भनेको जनता हो । राजनीति हो’, उनी भन्छन् । तर, झण्डै तीन महीना लामो प्रयत्न सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बाहेकका दलसँग आइतबार अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन बारे छलफल राखे । गएको २३ भदौदेखि संसद् अवरोध गर्न थालेको एमालेसँग प्रधानमन्त्री देउवाले १३ असोजदेखि सम्वादको पहल थालेका थिए । प्रधानमन्त्री देउवाले राजनीतिक दल ऐन सम्बन्धी अध्यादेश राजनीतिक भएकाले त्यसैअनुसार बुझ्न एमालेसँग आग्रह गरिरहेका छन् । एमाले भने जसरी पनि सरकारबाट हटाउने नियतका साथ संयुक्त मोर्चाबन्दी गरिएकाले सशक्त प्रतिरोध कायमै राख्ने बताइरहेको छ । ‘जनादेशमा परिवर्तन आएर वा विद्यमान संविधान र दलसम्बन्धी ऐनका कारणले हामीले क्षति व्यहोरेको होइन । नियतवस र गर्नैपर्छ भन्ने आधारमा सरकारबाट हट्ने अवस्था सिर्जना गरियो’, रिजाल भन्छन् । पार्टी विभाजन गरेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनाउन सरकार, सभामुख, न्यायालय र निर्वाचन आयोगले समेत सहयोग गरेको भन्दै एमाले संसद् अवरोधको एक सूत्रीय अडानमा छ । एकीकृत समाजवादी सहभागी कुनै पनि मञ्चमा सहभागी नहुने अडानकै कारण एमाले सहितको सर्वदलीय बैठक राख्ने प्रधानमन्त्रीको प्रयत्न सफल हुन सकेको छैन । एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुषाल भने अहिलेको परिस्थिति आउनुमा गएको २ भदौ नभएर ५ पुस २०७७ को कदम सम्झनुपर्ने बताउँछन् । ‘एक वर्ष अगाडि सम्झौं न । संविधान र कम्युनिष्ट आन्दोलन सिध्याउने कदम केपी ओलीले नचालेको भए आजको परिस्थिति आउँथ्यो ?’, भुषाल उल्टै प्रश्न गर्छन् । संविधान, संसद् र कम्युनिष्ट आन्दोलन जोगाउने दलहरुको प्रयत्नकै कारण एमाले आजको अवस्थामा आइपुगेको उनको तर्क छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्