नेताहरूको सेयर बजारबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । केही समयअघि ३२ सयको हाराहारीमा पुगेको सेयर बजार सोमबार ७९ अंकले घट्दै २२८१ बिन्दुमा आइपुगेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको अभिव्यक्ति दिएसँगै त्यसको चौतर्फी विरोध भएको छ । दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए । एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषयमा पार्टीको दस्ताबेजमा नै समावेश गराउने बताएपछि सरकारको नेतृत्वमा रहेको पार्टीको प्रमुख व्यक्तिले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ । प्रचण्डको सचिवालयले विज्ञप्ति नै निकालेर सुधार्ने प्रयास गरे पनि सोमबार पनि सेयर बजारमा निकै गिरावट देखियो । सेयर बजार ओरालो लाग्नुको कारण र राजनीतिक नेतृत्वले दिएका अभिव्यक्तिले सेयर बजारमा पार्ने प्रभावका विषयमा  लगानीकर्ताहरू भन्छन् : नेपाल सरकार, सरकारका निकाय, अर्थमन्त्रालय तथा अन्य निकायका उच्च पदमा आसीन व्यक्तित्वहरूले पुँजीबजारको मूल्य–मान्यता, सिद्धान्त नै बुझेका छैनन् । हिजोआज ठूला राजनीतिक दलका नेताहरू, सरकारी निकायका पदाधिकारीहरू गैरजिम्मेवार भएर बोल्ने गरेका छन् । एक त पहिला विभिन्न अभिव्यक्तिहरू दिन्छन्, त्यसपछि पुनः सचिने गरेका छन् । हिजो प्रचण्डले अभिव्यक्तिहरू दिनुभयो । त्यसपछि सचिवालयले पुनः सच्याउँदै हिँडेको छ । पहिले बाबुराम भट्टराईले पनि जुवाको घर भन्नुभएको थियो । युवराज खतिवडाले पनि त्यस्तै कुरा गर्नुभएको थियो । गभर्नरले पनि त्यस्तै बोल्नुभएको थियो । धितोपत्र बोर्डले पनि त्यस्तै प्रकारका लिस्टहरू निकाल्यो । त्यसले पुँजीबजारलाई नकारात्मक असर गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्