प्रधानमन्त्री देउवा : ” हाम्राे कामकाे सारा संसारले प्रशंसा गरेकाे छ “

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेकाे ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने बताएका हुन् । उनले राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ । पछाडि परेका, महिला, दलित, जनजाती सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ । मानव अधिकारसम्बन्धी धेरै कुराहरू नेपालमा भएको छ । द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरूमा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ । रामोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्व पीडितहरूको परिवारलाई न्याय दिने प्रयास गरिरहेका छौँ । हाम्रो कामको संसारले नै तारिफ गरेको छ । नेपालमा यत्रो द्वन्द्व भए आफैँ नेतृत्व गरेर वार्ता सुरु गरेर हामीले हिजो इन्सर्जेन्सीमा लागेका मित्रहरु आज मिनिस्ट्रीमा आएका छन् । सबैलाई हामीले आश्वस्त पार्नुपरेको छ । नेपाल आफैँले पनि धेरै कामहरू गर्नसक्छ भन्ने कुरा प्रमाणित भएको छ । केही कुरा छन् भने त्यसमा पनि हामी हेर्ने नै छौँ ।’ कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए । उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा सम्वर्द्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्