सर्वोच्चमा ‘समानान्तर पूर्णबैठक’को तयारी, गोलाप्रथाका लागि गृहकार्य

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई अस्विकार गरेका सर्वोच्च अदालतका असन्तुष्ट १९ न्यायाधीशहरुले समानान्तर पूर्णबैठक (फूल कोर्ट)को तयारी गरेका छन् । प्रधानन्यायाधीश जबरा बाहेकका सबै न्यायाधीश सहमत भएमा विहीबार उनी बाहेकको पूर्ण बैठक बस्नेछ र सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथासम्बन्धी निर्देशिकाको मस्यौदा पारित गर्नेछ । ‘पूर्ण बैठकमा हामी सबै न्यायाधीश उपस्थित भएर नियमावली संशोधन गर्नेछौं भने कार्यविधीमाथि पनि निर्णय हुनेछ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘त्यसपछि हस्ताक्षर गर्ने ठाउँ बाँकी राखिदिएर प्रधानन्यायाधीशज्यूलाई मस्यौदा पठाइदिन्छौं र उहाँले हस्ताक्षर गरेपछि त्यो मस्यौदा मुख्यरजिष्ट्रारले प्रमाणीकरण गरेर कानून मन्त्रालय पठाउने तयारी छ ।’प्रधानन्यायाधीशलाई नै अलग गरेर अरु न्यायाधीशहरुले पूर्ण बैठक सञ्चालन गरी निर्णय भए यो दुर्लभ घटना हुनेछ । अरु न्यायाधीशहरुले संशोधित नियमावली र निर्देशिकाको मस्यौदा स्विकृत गरेपछि प्रधानन्यायाधीश जबराले एक्लै र छुट्टै त्यसमा हस्ताक्षर गरेर पूर्णता दिने सहमति भएको छ । प्रधानन्यायाधीश जबरालाई यो विषयमा राजी गराउन न्यायाधीशहरु सपना प्रधान मल्ल र अनिलकुमार सिन्हाले जिम्मा लिएका छन् । सर्वोच्च अदालत नियमावलीमा प्रधानन्यायाधीशले इजलास र मुद्दा तोक्ने व्यवस्था छ । त्यही व्यवस्था हटाई गोलाप्रथाबाट इजलास गठन र मुद्दा तोक्ने व्यवस्था राख्नका लागि निमावली संशोधन गर्न खोजिएको हो। गोलाप्रथा कसरी कार्यान्वयन गर्ने भन्नेबारे निर्देशिका बनाइएको हो । पूर्ण बैठकको निर्णयपछि मात्रै निर्देशिका कार्यान्वयन गर्ने तयारी भएको छ । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तत्कालका लागि गोलाप्रथा र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्