नबिल र नेपाल बंगलादेश बैंक मर्जर सहमति अन्तिम चरणमा

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नबिल बैंकले गत आर्थिक वर्ष चार अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्‍यो। यो कमाइमा विशुद्ध बैंकिङबाट भएको कमाइसँगै ठूलो हिस्सा विभिन्न कम्पनीको सेयर बिक्रीबाट आएको आम्दानी पनि छ। यही कमाइको बलमा नबिलले यसपाली ३८ प्रतिशत लाभांश घोषणा गरेको हो। १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर दिएर थप पुँजी वृद्धि गरिँदैछ। अब चुक्ता पुँजी १८ अर्ब ४९ करोड पुग्ने छ। यो पुँजीको आधारमा चालु वर्षको नाफाबाट बैकले १२/१५ प्रतिशतभन्दा बढि लाभांश दिन सक्दैन। यही आकलन गर्दै बैंकको उच्च व्यवस्थापनले नबिल बैंकको ‘सुपर सञ्चालक समिति’ विनोद चौधरीलाई प्रस्ताव गर्‍यो- ‘अब मर्जर नगर्ने हो भने बजारमा नम्बर वानको ताज जोगाएर टिक्न गाह्रो छ।’ त्यसपछि चौधरीले बैंक व्यवस्थापनलाई सोधे- ‘कोसँग मर्जर गर्ने ?’ फ्याट्ट जबाफ आयो- ‘नेपाल बंगलादेश बैंक (एनबि) लगभग राजी पनि छ। उनीहरुलाई ल्याउँदा अहिले हामीलाई सजिलो हुन्छ।’ यसअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग पनि नबिलको कुराकानी भएको थियो। मूल्यलगायत धेरै कुरा नमिलेपछि अन्तिम समयमा आएर मर्जर नगर्ने पक्षमा नबिल बैंक पुगेको थियो। तिहारपछि भने नेपाल बंगलादेश बैंकसँग बाक्लै कुराकानी भएको छ। नबिलमा स्वदेश विदेश गरेर चौधरी समूहको करिब ६५ प्रतिशत सेयर छ। सञ्चालक समितिमा छोरा निर्वाण भए पनि चौधरीले नबिललाई नजिकबाट हेर्ने गरेका छन्। बैंकको महत्वपूर्ण निर्णयहरु उनले अध्यक्ष उपेन्द्र पौडेलसँग छलफल गरेर लिने गर्ने गरेका छन। यो मर्जरमा पनि उपेन्द्रले चौधरीलाई सुझाएका हुन्। तर, राष्ट्र बैंकदेखि एनबि बैंकको मूख्य सेयरधनी बंगलादेशको आइएफआइसी बैंकसम्म कुराकानी गरेर सबै मिलाउने जिम्मा चौधरीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र एनबि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई दिएका छन्। नबिलका प्रमुख कार्यकारी अधिकृत केही महिनापछि अवकाश हुँदैछन्। मर्जर गन्तव्यमा पुगे नबिल बैंकको प्रमुख कार्यकारी ढुंगाना हुने छन्। तिहारपछि चौधरी र ढुंगानाबीच बाक्लै कुराकानी भइरहेको छ। ‘सबै कुरा ठिकठाक भए केही सातामै मर्जरको प्रारम्भिक सम्झौता हुने छ,’ उच्च स्रोतले भन्यो। नबिलसँग जोडिएका यसअघिका मर्जरका चर्चामा थोरै सत्य धेरै अफवाह भएको भन्दै यसपालीको डिल निकै अगाडि पुगिसकेको दाबी स्रोतको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्