अर्थ राजनीति ~ साहसिक खेल गतिविधिका निम्ति प्रख्यात पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेकै स्थान र अवस्थामा प्याराग्लाइडिङ उडान हुन नसक्ने अधिकारीहरूले औँल्याएका छन्। अहिले प्याराग्लाइडिङ उडान हुँदै आएको पोखराको सराङकोट क्षेत्र हवाई उडान परिधिभित्र पर्ने हुँदा हवाई उडान र प्याराग्लाइडिङ उडान एकसाथ गर्न समस्या हुनसक्ने उनीहरूको भनाइ छ। पर्यटन व्यवसायीले भने हवाई उडानलाई बाधा नपुग्ने गरी भरपर्दो विकल्प खोजी गरिनु पर्नेमा जोड दिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी वैशाखदेखि सञ्चालन हुने गरी निर्माणको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्याराग्लाइडिङ खेल विस्थापित हुन नदिन अध्ययन भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक म्यानेजमेन्ट विभागका प्रमुख सुवर्णराज उपाध्यायले बताए ।
पर्यटन व्यवसायी बिरु बमजन र बेलायतका नागरिक एडम हिलले सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ खेलका गतिविधि सुरु गरेका थिए। बमजन र हिलले सन् २००० मा नेपालकै पहिले प्याराग्लाइडिङ कम्पनीको रूपमा सनराइज प्याराग्लाइडिङ दर्ता गरेर पहिलो पटक प्याराग्लाइडिङ गतिविधिलाई व्यावसायिक रूपमा अघि बढाएको नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष योगेश भट्टराई बताउँछन्। सुरुका वर्षहरूमा प्याराग्लाइडिङको व्यावसायिक उडान र एकल उडानमा पनि विदेशी प्यारापाइलटको वर्चस्व रहने गरेको नेपालका पहिलो व्यावसायिक प्यारापाइलट राजेश बमजनको भनाइ छ। एकल उडान र व्यावसायिक उडानमा समेत गरी बर्सेनि ९ सयभन्दा बढी विदेशी नागरिक पोखरामा प्याराग्लाइडिङ क्षेत्रमा व्यस्त रहन्थे। पछिल्लो समयमा नेपालीले पनि प्याराग्लाइडिङ उडानको विषयमा अध्ययन गर्न थालेपछि विदेशी पाइलटहरू कम हुँदै गएको उनले सुनाए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम ८७ प्रतिशत सम्पन्न भएको र चैत महिनाभित्रै सम्पन्न गरी बुझाउने गरी काम भइरहेको आयोजनाले जनाएको छ। व्यवसायीहरूले भने अहिले सञ्चालन भइरहेको उडान क्षेत्रबाटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि प्याराग्लाइडिङ उडान गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार सम्भव देखिएको बताएका छन्।