अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणले ओरालो लागेको पर्यटन क्षेत्रमा केही सुधार देखिन थालेको छ । २०७६ चैत्रबाट मुलुक लकडाउन भएसँगै पर्यटन क्षेत्र ढप्प भएको थियो । लकडाउनले असर पारेको झन्डै दुई वर्षपछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको व्यवसायी बताउँछन् । लामो समयको बन्दबन्दीपछि असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको थियो । यससँगै असोज ७ गतेबाट यो नियम लागू भएको थियो । झण्डै १९ महिनापछि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा विदेशी पर्यटकहरू भित्र्ने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार गत महिना (अक्टोबर)मा मात्र २३ हजार २ सय ८४ जना पर्यटक हवाइमार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए । यो संख्या लकडाउन यताकै धेरै हो । यसअघि सन् २०१९ अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै सन् २०२० को अक्टोवरमा २ हजार २५ जना विदेशी नेपाल भित्रिएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिल र अक्टोबर महिनामा पर्यटकको संख्या बढेको छ भने अन्य महिना घटेको छ । यसअघि वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गर्थे । पर्यटकको आवगमन शुरु भएसँगै होटल व्यवसायीहरूमा पनि उत्साह देखिन थालेको छ । अहिले बाह्य पर्यटकहरूले होटल बुकिङ गर्ने क्रम शुरु भएको होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ ।‘पर्यटकीय क्षेत्रतिर पर्यटकको आवगमन बढेको छ अहिले २० प्रतिशतसम्म होटलहरू बुकिङ भइरहेका छन्’ हानका महासचिव साजन शाक्य भन्छन् । कोरोना भाइरस संक्रमणदर कम भएसँगै पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकको भीड बढेको शाक्य बताउँछन् ।
लामो समयदेखि घरमै बसेकाहरू संक्रमण कम भएसँगै घुमफिरका लागि निस्किएका छन् । दशैँ तिहार छठ लगायत चार्डपर्वको बिदामा नगरकोट, पोखरा, सौराहा, मनाङ, मुस्ताङ लगायत पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । आन्तरिकसँगै बाह्य पर्यटकको आवगमन बढाउन सरकारले तयारी गर्नुपर्ने उनी बताउँछन् । ‘सरकार तथा सम्बन्धित निकायले यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गर्नुपर्छ । नेपालका पर्यटकीय गन्तव्यलाई समेटेर एप बनाउनुपर्छ’ महासचिव शाक्यले भने ।कुन गन्तव्यका लागि कति पैसा लाग्छ भनेर विस्तृतमा राख्न सकेमा बाह्य पर्यटकलाई सहज हुने उनको भनाइ छ । कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएमा थलिएको पर्यटन क्षेत्र तंग्रने व्यवसायीको अपेक्षा छ ।यही रफ्तारमा पर्यटकको संख्या बढ्दै गए सन् २०२२ मा नेपालमा पर्यटकीय गतिविधि धेरै हुने शाक्यको अपेक्षा छ । सन् २०२२ सँगै मार्चबाट पर्यटनको नयाँ सिजन शुरु हुन्छ । ‘केही महिनाअघि मात्र पर्यटक नेपाल आउने ढोका खुलेको छ । अब २०२२ को मार्चबाट नयाँ सिजन शुरु हुँदैछ कम्तीमा ५० प्रतिशत पर्यटक भित्रन्छन् भन्ने लाग्छ,’ उनले भने ।