” दोब्बर राजस्व संकलन गर्ने लक्ष्य लिएको छु ” : अर्थमन्त्री शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य आफूले लिएको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’ उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउन कडाइसमेत गरिएको छ ।’ यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अबौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिएको उनको भनाइ छ । राजस्व संकलनसमेत लक्ष्यअनुरुप हुने विश्वास उनको छ । राजस्व बढाउन लगानी पनि बढ्नु पर्ने भन्दै उनले तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउनसमेत निर्देशन दिए । उनले चीन सरकारले ठोस रुपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिए । तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वका साथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्