अर्थ राजनीति ~ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका अदालत एक दिन ठप्प पार्नुपर्नेसम्मका सुझाव इकाई पदाधिकारीले दिएका छन् । जबराको राजीनामाबाहेकमा सम्झौता नगर्न उनीहरूले खबरदारी पनि गरेका छन् । बारले गत बुधबारसम्म दिइएको ‘अल्टिमेटम’ मा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलन कसरी अगाडि बढाउने भनेर इकाई पदाधिकारीहरूसँग छलफल गरिरहेको छ । बार महासचिव लीलामणि पौडेलका अनुसार आइतबार २५ इकाईका २९ पदाधिकारीको सुझाव लिइएको छ । सोमबार पनि इकाई पदाधिकारीबाट सुझाव लिने क्रम जारी रहनेछ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले पहिलो दिनको छलफलमा इकाईका पदाधिकारीहरूले संघर्षलाई थप कडा बनाउन सुझाव दिएको जानकारी दिए । ‘नेपाल बारको माग र अडानमा इकाई पदाधिकारीहरूले समर्थन जनाउनुभएको छ । उहाँहरू आन्दोलनमा सहभागी हुन तयार हुनुहुन्छ । बार अध्यक्ष श्रेष्ठले न्यायालयमा देखिएको पछिल्लो विवादका सम्बन्धमा राजनीतिक दलहरूसँग भने कुनै कुराकानी नभएको र प्रधानन्यायाधीश जबराले समेत छलफल नगरेको बताए । पौडेलका अनुसार इकाई पदाधिकारीहरूले प्रधानन्यायाधीशबाट राजीनामा नगरेसम्म आन्दोलन गर्न सुझाव दिएका छन् । न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराको राजीनामाको विकल्प नभएको उनीहरूको भनाइ छ । दिनदिनै ठप्प पार्दा समस्या हुने भएकाले कुनै एक दिन सबै अदालत ठप्प पार्ने र बाँकी दिन निश्चित समय विरोध गर्ने कार्यक्रम ल्याउन सुझाव आएको उनको भनाइ थियो । ‘न्यायालयका उपभोक्ताको हित पनि हेर्दै आन्दोलनलाई विस्तार गर्नुपर्ने सुझाव आएको छ,’ पौडेलले भने । अ ध्यक्ष श्रेष्ठले बार प्रधानन्यायाधीशको राजीनामाको मागभन्दा तल नजाने दाबी गरे । सोमबारबाट पनि पहिलेजस्तै बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ नहुने र प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने कार्यक्रम रहेको छ । बिहान साढे १० देखि साढे ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा विरोध गर्ने कार्यक्रमलाई सोमबार पनि बारले जारी राख्ने जनाएको छ । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा न्यायिक विचलन ल्याएको, न्यायको मूल्यमा सौदाबाजी गरेको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेको भन्दै बारले उनको राजीनामा मागेको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति