अर्थ राजनीति ~ नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन बेलुकी सकेसम्म कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेेको छ । महत्वपूर्ण दिन भएकाले सकेसम्म कतैपनि बत्ती नजाने गरी व्यवस्था गर्न आवश्यक वितरण प्रणलीमा प्राविधिक मर्मतसम्भार सहितको काम कामहरु गरिसेकको प्राधिकरणले बताएको छ । लक्ष्मी पूजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । कतै प्राविधिक समस्या आएर लाइन जाने सक्ने भएकाले सबै ‘नोलाइट’को मर्मत टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले बताएको छ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिमले मर्मत गरिहाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । यस वर्षको तिहारमा करिब देशभर १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ । गत भदौमा प्रणालीमा एकै दिनमा १६२० मेगावाटको पिक लोड आउँदा प्राधिकरणले सहजै व्यवस्थापन गरेको थियो । प्राधिकरणका अनुसार अहिले दिनमा २ सय मेगावाट र रातमा ५ सय मेगावाटसम्म बिजुली माग भन्दा बढी उत्पादन भइरहेको छ । अहिले कुलेखानीको विद्युत खेर गइरहेको भन्दै प्रसारणका कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने घिसिङले बताए । घिसिङले आम उपभोक्ताहरुलाई ढुक्कसँग विद्युतीय उपकरणहरु चलाउन पनि आग्रह गरेका छन् । ‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी लोड आउने अपेक्षा गरेका छैनौं, हामीसँग अहिले करिब २ हजार प्लस मेगावाटभन्दा बढी जलविद्युतको जडित क्षमता छ, १५-१६ सय मेगावाटका आयोजना नियमित अप्रेसनमा छन्,’ उनले भने, ‘कुलेखानी समेत चलाउन सकिने भएकाले बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । सबै उपभोक्ताले निर्धक्कसँग तिहारमा झिलिमिली गर्दा हुन्छ ।’
लक्ष्मीपूजालाई बिजुली पर्याप्त, प्राधिकरणका मर्मत टोली तयारी अवस्थामा
