अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताएका छन् । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको जानकारी दिएका हुन् । जलवायु सम्मेलनमा भाग लिएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दुई पक्षीय भेटमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ, नेपालमा आउनुस् भनेँ,’ देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नु भएको छ । उहाँ नेपाल भ्रमणमा आउने मितिको चाहिँ कुरा भएको छैन ।प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने पनि बताए । उनले भने, ‘ गठबन्धनमा कुनै किसिमको शंका नगर्नु भए हुन्छ।’ प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।
” एमसीसीबारे आत्तिन पर्दैन भनेको छु ” : प्रधानमन्त्री देउवा
